संस्कृति संरक्षणमा जुर्मुराउँदै सन्थाल
चिरञ्जीवी घिमिरे
मोरङ उर्लाबारी–८ का ५२ वर्षीय बुद्धिलाल सुरेनले दुई वर्षदेखि प्रत्येक आइतबार उर्लाबारी ८ को पदमटोलीमा सन्थाल समुदायलाई भेला गर्ने गरेका छन् । झापा, मोरङ र सुनसरीमा रहेका सन्थालहरु भेला भएर आफ्नो मन्दिरमा सामुहिक पूजा गर्छन् । त्यति मात्र होइन, आफ्ना विभिन्न नाच प्रस्तुत गर्दै युवा पुस्तालाई आफ्नो संस्कृतिका बारेमा जानकारी पनि दिन्छन् । उनीहरूले दुई वर्षदेखि नियमित यस्तो गर्दै आएका हुन् । त्यहाँ भेला भएर उनीहरु पूजा मात्र गर्दैनन्, आफ्नो संस्कृतिका बारेमा युवा पुस्तालाई जानकारी पनि दिने गर्छन् । प्रकृतिको पूजक सन्थालहरुको मूख्य संस्कृती भनेको सन्थाल नाच नै हो । उनीहरुको नाच समय र पर्वअनुसार फरक फरक हुन्छ । पूर्णिमाको दिन ६ दिनसम्म सन्थालले सोहोराय पर्व मनाउँछन् । यस पर्वमा सोहराय नाच नाच्ने गरेका छन् । यस्तै सन्थालले फागुपूर्णिमा दुई दिनअघिबाटै बाहालेयङ नाच नाच्न थाल्छन् । यस्तै उनीहरुले विवाह, न्वारानलगायत शुभ कार्यमा डंग नाच नाच्ने गरेका छन् । यस्तै दशैँ र तिहारमा पनि दासाएनेक नाच नाच्ने गरेका छन् । यो नाच पछिल्लो समय लोप हुँदै गएकाले यसको संरक्षण गर्नका लागि पनि उनीहरु त्यहाँ भेला हुने गरेका छन् । आफ्नो संस्कारका रुपमा रहेको नाचको जगेर्ना गर्ने दायित्व आफूमै रहेका कारण सन्थाल अगुवाहरू यसरी संस्कृति संरक्षणमा जुटेका हुन् । उनीहरूलाई चिन्ता छ, कतै भावी सन्ततिले आफ्ना संस्कृति र संस्कार भुल्ने त होइनन् ! यही चिन्ता र हुटहुटीका कारण सन्थाल अगुवाहरू लागिपरेका छन् । त्यहाँ मात्र होईन बुद्धिलाल सचिव रहेको संस्था एभेन मार्चल सन्थाल समाजले झापा, मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको संस्कार, संस्कृति संरक्षणमा लामो समयदेखि काम गरिरहेको छ । समाजले सन्थालको कला, संस्कृतिको संरक्षण गर्नुका साथै समुदायभित्र जनचेतना जगाउने काम पनि भईरहेको छ । यो समाजले सन्थाल बस्ती–बस्तीमा गएर आफ्नो संस्कृतिको बारेमा जानकारी दिँदै आएको छ । आफ्नो समुदायको संस्कृति लोप हुने अवस्थामा पुगेकाले समाजले यस्ता खालका गतिविधि गर्दै आएको समाजका सचिव बुद्धिलाल बताउँछन् । उनका अनुसार संस्थाले झापा, मोरङमा रहेको सबै सन्थालको अधिकारका बारेमा आवाज उठाउनुका साथसाथै आफ्नो संस्कृतिको बारेमा जानकारी दिदै कला र संस्कृतिको संरक्षण गर्ने काम पनि गर्दै आएको छ । यसले युवा पुस्ताले भुल्दै गरेको संस्कृति संरक्षणमा टेवा पुगेको बुद्धिलाल बताउँछन् । यस्तै, सन्थाल समुदायका युवाहरूले आफ्नो संस्कृतिको जगेर्ना गर्न नेपाल आदिवासी सन्थाल युवा संघ गठन गरेका छन् । यो संस्थाले संस्थाल समुदायको संस्कृतिको संरक्षण गर्नका लागि जनचेतना जगाउने, सन्थाल नाचको बारेमा युवालाई जानकारी दिने लगायत काम गर्दै आएको छ । झापा, मोरङ र सुनसरीमा मात्र रहेका आदिवासी सन्थालको संस्कृति पछिल्लो समय युवा पुस्ता गरिबीका कारण विदेशीने र आफ्नो कला संस्कृतिका बारेमा चासो नदिने गरेका कारण लोप हुँदै गएको छ । लोप हुँदै गएको संस्कृति जोगाउन यसबेला सन्थाल समुदायका युवाहरु संस्था नै खोलेर लाग्नुपरेको नेपाल आदिवासी सन्थाल युवा संघका अध्यक्ष झनक सुरेन बताउँछन् । संस्थाले सन्थाल संस्कृती, सन्थाल नाचलाई बचाईराख्न संस्कृति संरक्षणको काम गर्दै आएको उनी बताउँछन् । ‘हाम्रो संस्कृति लोप हुँदै गएको छ । युवा पुस्ताले संस्कृति जगेर्ना गर्न चाहेनन् । त्यसैले हामीले गाउँ गाउँमा गएर जनचेताना जगाउने तथा अब हाम्रो नाचलाई व्यवसायिक बनाउनुपर्छ भनेर जाकारी दिने काम गर्न लागिपरेका छौँ,’ सुरेन भन्छन् । सन्थालको संस्कृतिको संरक्षण गर्न यी संस्था मात्र होइन, अहिले टोलटोलमा समूह नै खोलेर सन्थालहरू क्रियाशील छन् । सन्थाल संस्कृतिको जगेर्ना गर्नेमध्येको अर्को संस्था हो, नेपाल सन्थाल माराङबुम युवा क्लब । यो संस्था पनि सन्थाल समुदायको लोप हुन लागेको संस्कृतिलाई पुनरुत्थान गर्न क्रियाशील छ । पछिल्लो समय सन्थाल बस्तीको प्रत्येक टोलमा यस्ता खाले समूह खुलेका छन् । यी समूहले आफ्नो संस्कृति जगेर्ना गर्नुका साथै शैक्षिक रुपमा कमजोर रहेका सन्थाललाई शिक्षाको महत्वका बारेमा जानकारी दिँदै आएका छन् । क्लबका अध्यक्ष प्रकाश मार्डीले संस्कृतिको जगेर्ना गर्न आफूहरू संस्था नै खोलेर लागिपरेको बताए । ‘सन्थाल समुदायमा धेरैजसो गरिब छन् । अर्काकोमा काम गर्नुपर्छ । भनेको बेलामा बिदा पाउँदैनन् । त्यसले गर्दा युवा पुस्तालाई नाच सिकाउन पाउँदैनन्’, उनले भने, ‘त्यसैले हाम्रो परम्परा हराउँदै गएको थियो भने अब हामी पनि परम्परा जगेर्ना गर्न लागेका छौँ ।’ पुस्तान्तरण हुन नसकेको यो नाचलाई युवा पुस्तामा हस्तान्तरण गर्न पनि संस्था चलाएको उनले बताए । के हो सन्थाल संस्कृति ? पूर्वी नेपालका झापा, मोरङ, सुनसरीमा परापूर्वकालदेखि बसोवास गर्दै आएका सन्थालको आफ्नो छुट्टै पहिचान छ । सन्थाल नेपाल सरकारबाट सूचीकृत ५९ आदिवासी जनजातिमध्येको एक हो । २०६८ को जनगणनाअनुसार कुल ५१ हजार ७ सय ३७ जनसंख्या रहेका उनीहरूको भाषा, लिपि, वेशभूषा छुट्टै छ । उनीहरूमध्ये शहरमा एक हजार ७ सय ३६ मात्र बसोवास गर्छन् भने बाँकी ग्रामीण क्षेत्रमै बस्ने गरेका छन् । उनीहरू ‘ठाकुर’ अर्थात विष्णु देवतालाई प्रमुख देवता मान्ने गर्दछन् । उनीहरूले पूजा गर्ने स्थानलाई ‘मान्झिथा’ भन्ने गरिन्छ । जब दशैँ, तिहारजस्ता चाडपर्व सुरु हुन्छन्, तब सन्थाल समुदाय यसको स्वागतमा लाग्छन् । सन्थाल जातिको बाजा गाजासहित दशैँ मेलामा सहभागी हुन्छन्, उनीहरू । उनीहरुले बाजाका रुपमा तुम्दा (मादल) र तामाङ्क (ट्यम्को) बजाउने गर्छन् । तामाङ्क २ जनाले बजाउँछन् भने मादल एक जनाले बजाउने गरेका छन् । सन्थाल समुदायले दशैँ आफ्ना परम्परागत नाच प्रस्तुत गरेर मनाउने गर्छन् । आफ्ना पितृ र देवी देउतालाई खुसी बनाउँदै आफ्नो बासस्थान वरपर आफ्नो समुदायका साथै समाजकै भलो होस् भन्ने कामना गर्दै प्रार्थना गरेर दशँैमा दुर्गा मन्दिरहरूमा गई समूह बनाएर पूजाआजासहित नाच नाच्ने गर्छन् । सन्थालहरूले आफ्नै जातीय भाषामा ‘पेड...पेड...’ भन्दै नाच्दा सबैको ध्यानाकर्षण गराउँछ भने बाजाको तालमा आफ्नो शरीरलाई हल्लाउने उनीहरूको कला मनमोहक हुने गर्दछ । रंगीचंगी कमिज, धोती लगाएर शिरमा मयूरको प्वाँख, ऐना र झुम्काले बनाएको रंगीन फेटा लगाएर शरीरभरि कल्ली बाँधेर एउटै ताल र सुरमा छुट्टाछुट्टै समूह बनाएर नाचिने दासाएनेक (दसैँ नाच)को मूल्यांकन समाजको विशिष्ट र नाचका जानकारहरूबाट गर्ने गरिन्छ । त्यही मूल्यांकनका आधारमा प्रथम, द्वितीय, तृतीयका साथै सान्त्वना पुरस्कार पाउने टोलीको नाम घोषणा गर्ने गरिन्छ । त्यही समूहका प्रमुख नाइकेले पुरस्कारवापतको नगद रकम, रक्सी आदि बुझ्छन् र नाचमा सहभागीहरू सबै समुहमा बसेर खाँदै पुरस्कार रकम भागवण्डा गर्छन् । दशैँको फूलपातीको दिनबाट विशेष रूपमा दासाएनेक नाच सुरु हुन्छ । यस नृत्यमा नाच्नेहरू सबै पुरुषहरू हुन्छन् भने उनीहरूलाई आकर्षित गर्न र जोश थप्न महिलाहरू पनि उत्तिकै संख्यामा दर्शक बनेर हौस्याउँदै बस्छन् । महिला पनि कहीँ कहीँ हात समाएर नाचेको देख्न सकिन्छ । चारैतिर दशैँको रौनक सुरु भएसँगै आदिवासी सन्थाल बस्तीहरूमा विशेष किसिमको रौनक सुरु हुन्छ । उनीहरू आफ्नो घरबाट देवीको पूजा गर्दै मेला लागेको स्थानसम्म आएर नाच देखाउँछन् । यो पूजामा आफ्नो समुदायको मात्र होइन, समग्र समाजकै भलाइ होस् भन्ने कामना आफ्ना देउतासँग गर्छन् । तर, अन्य समुदायकै परम्परा जस्तो दशँैंमा मान्यजनबाट टीका लगाउने उनीहरूको पनि परम्परा छ । त्यसो त यो नाच दशैँमा मात्र देखाउने भने होइन । सन्थाल समुदायले यो नाच विशेष अवसरहरूमा पनि प्रदर्शन गर्छन् । सन्थाल समुदायको विवाह, कुल पूजालगायतका अवसरमा पनि उनीहरूको यो नाच देख्न सकिन्छ । पछिल्लो समय त सन्थालको नाच राजनीतिक कार्यक्रममा पनि आकर्षणको एउटा माध्यम बनेको छ । कमल गाउँपालिका– १ स्थित नयाँ बस्तीका माझिहडाम (सन्थालका मुखिया) सुक्ला टुडुले संस्कार र संस्कृतिको विकास गर्न विभिन्न समयमा सन्थालको नाच प्रस्तुत गर्दै आएको बताए । उनले सदियौँदेखि जंगल फडानी गरेर बसेका सन्थाल बिरामी पर्दा देवीलाई खुसी पार्न यो नाच नाच्न थलिएको बताए । उनले भने, ‘त्यसबेला डाक्टर हुँदैन थिए रे, बिरामी सन्थालको उपचार गर्दा झाँक्रीले देवीलाई खुसी पार्न यो नृत्य देखाउनुपर्छ भनेदेखि हाम्रा पुस्ताले यो नाच सुरु गरेका हुन् रे !’ प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै हिन्दूहरूका महान् चाड दशैँ र तिहारको बेला दशैँ नृत्यमा रमाउने गर्छन् । दशैँ र तिहारको समयमा गाउँगाउँमा लाग्ने मेलामा सन्थाल समुदायका मानिसहरूको नाच प्रमुख आकर्षण हुने गरेको उनले बताए । उनी भन्छन्, ‘अरू समुदायका दाजुभाइले पनि मेला बजारमा हाम्रो नाच भएन भने खल्लो हुन्छ भन्नुहुन्छ । त्यसैले हामी धेरै ठाउँमा नाच देखाउने गर्छौं ।’ न्यायमा माझिहडामकै भर सन्थाल समुदायको उद्गम थलो भारतको दुम्का भन्ने ठाउँ भएपनि उनीहरूले नेपालको पूर्वी तराईमा सदियौँ वर्ष अघिदेखि आएर जंगल फडानी गरेर मानव बस्ती बसालेको सन्थाल अगुवाहरूले बताउँदै आएका छन् । सन्थाल समुदायका मुखियालाई माझिहडाम भनिन्छ । न्याय र प्रशासनिक क्षेत्रमा राम्रो पहुँच पुग्न नसकेका उनीहरू अझै पनि माझिहडामकै आदेशमा चलिरहेका छन् । उनीहरूमध्येका केही शिक्षित पनि छन् । तर, धेरै अशिक्षित र बेरोजगारी छन् । सुकुम्वासी बस्तीमा बसेका उनीहरू अर्काको खेती गरेर वर्षभरि खाने गर्छन् । गाउँमा झैझगडा भएपनि उनीहरू प्रहरी प्रशासनसम्म पुग्दैनन् । आफ्नो माझिहडामबाटै यस्ता झैझगडा मिलाउने गरेका छन् । सन्थाल समुदायमा धेरै निर्णयहरु माझिहडामकै चल्ने झापाको कनकाई नगरपालिकाका सन्थाल युवा वीरबहादुर हेमरम बताउँछन् । उनी भन्छन्, ‘हाम्रोमा विवाह तथा विभिन्न कार्यक्रमहरु माझिहडाकै रोहबरमा हुने गरेको छ । हाम्रो समुदायमा अरुको जस्तो पुजारी हुँदैन सबै माझिहडामले गर्छन् ।’ माझिहडामले एउटा गाउँको नै नेतृत्व गर्ने गरेको उनको भनाइ छ । गम्भीर प्रकृतिका घटनाबाहेक ससाना झैझगडा माझिहडामले नै मिलाउने गरेको छ । ‘ज्यान मारेको मुद्दाबाहेक भरसक प्रहरीमा जाँदैनन् । तर, माझिहडामको निर्णय चित्त नबुझे प्रहरीमा पनि जाने चलन छ ।’ Source : http://www.souryadaily.com/epaper/?isid=1553