कोरोना COVID-19 का बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु

पत्रकार र सञ्चारमाध्यमका लागि
नेपाल पत्रकार महासंघद्वारा जारी जरुरी सूचना

पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं ।

कोरोना COVID-19 का बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु । 


 COVID-19 भन्नाले CO = Corona, Vi = Virus, D = Disease र 19 भन्नाले २०१९ मा उत्पन्न भाइरस हो । यसको नामाकरण गर्दा नै कसैमाथि लाञ्छना नलाग्ने गरी गरिएको हो । त्यसैले यस भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं । 


 आममानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्य तथ्य सूचना सम्प्रेषण गर्दा उनीहरुको बुझाई सुध्रिने र त्रास कम हुने वातावरण बन्छ । आधा अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ । त्यसैले आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔं । सामाजिक सञ्जालमार्फत् पनि यस्ता सूचना प्रवाहित गरौं । हामीले दिने सही सूचनाले धेरैतिरबाट आउने गलत सूचनाको प्रतिकार हुन सक्छ ।


 कोरोना भाइरसका बारेमा प्रसस्त चर्चा गरौं, सूचना लिउँ र दिउँ । कोरोना भाइरस लागेका वा लागेको हुन सक्ने पर्याप्त सम्भावना भएका मानिसहरुका बारेमा लेखौं । तर, कसैलाई पनि कोरोना भाइरसको शंका भएकै आधारमा शंकास्पद कोरोना संक्रमित जस्ता शब्द प्रयोग नगरौं । ंसंक्रमितको व्यक्तिगत गोपनियतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं ।


 कसैलाई कोरोना लागेको छ वा कोरोनाको सम्पर्कमा आएका छन् भन्ने स्पष्ट आधार र प्रमाण छ भने लेखौं । तर, कसैलाई पनि उसका कारणले कोरोना सर्न सक्ने वा उसले कोरोना फैलाउन सक्ने भन्ने जस्ता लाञ्छना नलगाऔं । कसैलाई अपराधिकरण गर्ने वा लाञ्छना लगाउने भाषाले त्यो व्यक्ति वा समुदायले आफूले गल्ती गरेको वा आफू अपराधी भएको महसुस गर्न सक्छ । हामीले लाञ्छना लगाउँदा कसैलाई थप मानसिक पीडामा पारिरहेका हुनसक्छौं भन्ने कुराको ख्याल गरौं ।


 वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा मात्र कोरोना भाइरसका बारेमा लेख्ने गरौं । कुनै पनि अनाधिकृत सूचना वा हल्लाहरुलाई सञ्चार माध्यममा स्थान नदिऔं र आफ्ना व्यक्तिगत सामाजिक सञ्जालहरुमा पनि शेयर नगरौं । सरकार तथा अन्य आधिकारिक स्वास्थ्य निकायहरुले दिएका सुझावहरुलाई पालना गरौं र आधिकारिक सूचना मात्रै सम्प्रेषण गरौं । 


 कोरोना भाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरुलाई प्राथमिकता दिऔं । साना साना कदमहरुले मात्रै पनि हामी आफू र सबैलाई सुरक्षित राख्न सक्छौं । सकारात्मक समाचारहरुले मानिसको मनोबल बढाउन सक्छ । नकारात्मक सन्देश तथा त्रास फैलाउन सक्ने सूचनाहरु सम्प्रेषण नगरौं । 


 संक्रमणको महामारी (Epidemic) भन्दा सूचनाको महामारी (Infodemic) चाँडो फैलन्छ । यसले मानिसहरुमा त्रासको वातावरण सृजना गर्छ भने संक्रमित र बढी संक्रमण देखिएका क्षेत्रका मानिसहरुप्रति भेदभावको अवस्था पनि सृजना हुनसक्छ । संक्रमणमा परेका व्यक्ति वा बढी प्रभावित समुदाय वा क्षेत्रलाई हामी सबैको सहयोगको खाँचो छ । सबैभन्दा जोखिममा रहेका समुदाय र व्यक्तिको सुरक्षाका लागि अन्य निकायसँग सहकार्य आवश्यक छ ।


 कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायहरुका बारेमा सूचना सम्प्रेषण गरौं । साथै, सीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा पनि प्रकाशन प्रसारण गरौं ।


 गलत सूचना प्रवाह, बुझाईमा कमजोरी र अतिरञ्जनापूर्ण प्रचारले एकातर्फ विभेद र लाञ्छनाको अवस्था सृजना गरिरहेको हुन्छ भने अर्कातिर संक्रमण रोकथामका लागि हुने कामहरुमा बाधा पु¥याइरहेको छ । यस्तो अवस्थामा मानिसहरु आत्तिनु स्वभाविक हो तर गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको छ । त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं र अरुलाई पनि बुझाऔं । रोकथामका उपायहरुको प्रचार प्रसार गरौं । साथै चाँडो जाँच र उपचार गर्दा जीवन जोगिने कुरा पनि सबैलाई बताऔं ।


 संक्रमणलाई थप फैलिनबाट रोक्न र बढी संक्रमणमा रहेका समुदाय वा क्षेत्रमाथि हुनसक्ने अस्वाभाविक विभेद कम गर्न संचार क्षेत्रको भूमिका महत्वपूर्ण छ । त्यसैले संक्रमणमा परेका व्यक्ति, समुदाय वा क्षेत्रका बारेमा सकारात्मक सूचना सम्प्रेषण गरौं । उनीहरुका मानवीय पक्ष र विषयहरुलाई समाचारको विषयवस्तु बनाऔं । साथै संक्रमणविरुद्ध अग्रभागमा रहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी, आदि) प्रति सहयोग पुग्ने र उनीहरुलाई प्रोत्साहन हुने खालका समाचार सम्प्रेषण गरौं ।


 त्रास होइन तथ्यले मात्र संक्रमण रोक्न सहयोग पुग्छ । त्यसैले संक्रमणका बारेमा सत्य तथ्य समाचार मात्र प्रकाशन, प्रसारण गरौं र भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौं ।


 शब्द प्रयोगमा ध्यान दिऔं । हामीले समाचार दिने तरिकाले अरुको व्यवहारलाई प्रभाव पारिरहेको हुनसक्छ ।


 कोरोना प्रभावित भई निको भइसकेका व्यक्तिहरु, आफूलाई सुरक्षित राख्दै कोरोना प्रभावितहरुको उपचार र हेरचाहमा संलग्नहरुका समाचार र अनुभूति प्रकाशन प्रसारण गर्दा कोरोना लागि हालेपनि निको हुनसक्छ भन्ने सन्देश जान्छ । कोरोनाको उपचार र रोकथाममा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने अन्य अहिलेका ‘हिरो’ हुन् । उनीहरुलाई सम्मान गरौं र उनीहरुका सकारात्मक समाचार सामग्री सम्प्रेषण गरौं ।


 कोरोनाको महामारी फैलिनबाट रोक्न र यस प्रक्रियामा योगदान गरेका नागरिक, नागरिक संस्था, सरकारले गरेका सकारात्मक कार्यहरुलाई मिडियामा उचित स्थान दिने गरौं, यसले अन्य व्यक्ति र निकायलाई पनि यस प्रक्रियामा लाग्न प्रोत्साहन गर्न सकोस् । 


अन्त्यमा, आफू सुरक्षित रही समाचार सम्प्रेषण गरौं
–    कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरु अपनाऔं ।
–    सकेसम्म इमेलमार्फत् रिपोर्ट फाइल गरौं ।
–    सञ्चारगृहहरुले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं
–    अत्यावश्यक बाहेकका भेटघाटहरु नगरौं
–    समय समयमा साबुन पानीले हात धुने गरौं ।
–    अनावश्यक रुपमा हातले आँखा, नाक मुख छुने नगरौ । 
–    भेटघाटमा हात मिलाउने अंकमाल गर्ने भन्दा नमस्कार गर्ने गरौं । 
–    सकेसम्म भिडभाड हुने स्थानहरुमा नजाऔं ।
–    श्रोतहरुसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गरौं ।
–    सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौं ।

(यो सामग्री विश्व स्वास्थ्य संगठनले तयार गरेको Social Stigma Associated with COVID-19 A guide to preventing and addressing social stigma" मा आधारित रहेर नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले तयार गरेको हो । यो सामग्री नेपाल पत्रकार महासंघले महासंघका सदस्य तथा सबै संचारकर्मीहरुलाई उपयोगी हुने ठानी जानकारी तथा प्रयोगको लागि वितरण गरिएको छ ।)

 Download