रिक्साचालक महिला र समानताको अवस्था
सीता मादेम्बा
धरानकी अम्बिका गोलेले रिक्सा चलाउन थालेको तीन बर्ष भयो । सुरुमा त ट्याम्पोवालाहरुले यात्रु कुर्ने स्थान (स्टयाण्ड) नजिकबाट यात्रु चढाउनै दिदैनथे । पुरुष रिक्सावालाहरुले पनि अम्बिकाको उत्तिकै रिस गर्दथे । र, रिक्सा कुदाउन दिदैनथिए । यता यात्रुहरुले भने बैनीले चलाएको रिक्सामा नै चढछौ भनी आफनो रिक्सामा बस्ने गरेको उनको भनाई छ । ‘यात्रुहरुको रोजाइका कारण उहाँहरुले पनि केही गर्ने कुरा आएन । तैपनि कहिलेकाही बाटो छेकेर मान्छे ओरालीदिनेसम्म गर्दथे’, उनले भनिन् । त्यस्तो वेला कहिलेकाही झगडा समेत हुने गरेको उनले बताइन् । ‘एक दिन यात्रु मेरो रिक्सामा चढे । सफारीवाला दाई उसकोमा यात्रु चढेन भनेर मेरो सफारीको पछाडि झुन्डिएको झुन्डिएै गरेर बसे । म सफारीवाट झरे । अनि एक झापड हाने’, पुराना दिनको घटना सम्झदै अम्बिकाले भनिन् ।
धरानकै सीता थापा क्षेत्रीले पनि पैसाको दुखका कारण रिक्सा चलाउन शुरु गरिन् । केही नगरी वस्दा श्रीमान्ले कति खेर ल्याउलान् र खाउला भनी बस्नुपथ्र्याे, सीतालाई । त्यति मात्र होइन, छोराछोरीले केही पैसा माग्दा पनि ‘बाबाले ल्याएपछि दिउला’ भन्नुपर्दथ्यो । ‘मसँग पैसा छैन भन्दा नानीहरुको अनुहार पनि अधेरो हुन्छ । कति दिन माग्ने ? त्यही भएर पनि मैले आफैले रिक्सा चलाउन थालेको हो । त्यसमाथि महिलाहरुले चलाएको देखेपछि मलाई पनि चलाउने साहस आयो’, रिक्सा चलाउन थाल्नुको कारण खोतल्दै सीताले भनिन् । तर, उनले पनि अम्बिकाले झैं सडकमा रिक्सा चलाउदा समस्या नभोगेकी होइनन् । ‘झगडा चाहिं यात्रु तानातानमा हुन्छ । झगडा पर्दा केटाहरुले नराम्रो वोलिदिन्छन् । उनीहरुले प्रयोग गर्ने शब्दहरु कसरी भन्नु ? त्यही भएर एक कानले सुन्यो अर्को कानले उडाउनुपर्ने हुन्छ’, सीताले भनिन् । विद्युतिय रिक्साको स्टेशन नभएकै कारण ट्राफिकले खेदाउने समस्या रहेको रिक्साचालकहरु बताउँछन् । महिला रिक्साचालकको हकमा ट्राफिकले अपमान गर्ने गरेको पनि सीताको अनुभव छ । ‘एक दिन म रिक्सा रोकेर वसेको वेला एक ट्राफिक प्रहरीले नराम्रो व्यवहार गरे । त्यसपछि म सिधै ट्राफिक प्रहरी कार्यलयमा गएर उजुरी गरे’, उनले भनिन् ।
त्यसो त यस्तो झगडा पाइला पाइलामा पर्ने गरेको महिला रिक्सा चालकहरुको भनाई छ । ‘नगरपालिकाको कर उठाउनेसँग पनि झगडा भयो । उसले एक बर्षको कर कटायो तर बार्षिकी ल्याईदिएन । कार्ड चाहिं दैनिक दिन्थ्यो । पछि कर उठाउने परिवर्तन भएर नयाँ आयो । मैले तिरिसकेको कुरा गर्दा उसले हुँदैन, हामीसँग नै काट्नुपर्छ भनेर जर्वजस्ती पैसा माग्यो । विवाद हुँदाहुँदै मलाई मुख छाड्यो । भानुचोकमा त्यो कर उठाउनेसँग हात हालाहाल नै भयो’, अम्बिकाले पुरानो दिनको घटना स्मरण गर्दै भनिन्, ‘त्यतिखेर त ईलाका प्रहरी कार्यलय नै गईयो । म डराउने मानिस होइन । चुप लाग्दा त कमजोर भनेर हेप्ने रहेछन् ।’ पुरुषहरुले नराम्रो शब्दहरु बोल्दा मन दुख्ने बताउँदै उनले भनिन्, ‘इज्जतदार भएर वोलिदिएहुन्थ्यो, नराम्रो शब्द नवोले हुन्थ्यो जस्तो लाग्छ । तैपनि उनीहरुले त्यस्तो नराम्रो शब्द बोल्ने गर्छन् । त्यसैले हामीले पनि एउटा कानले सुन्छौ अर्को कानले उडाउँछौ ।’
एक हिसावले भन्ने हो भने रिक्सा कुदाउन थालेपछि अम्बिकाको जीवनमा धेरै नै परिवर्तन आयो । ‘पहिला ठुलो मानिसको अगाडि वोल्न डर लाग्थ्यो, बोल्नै सक्दैनथे । तर, अहिले वोल्न सक्छु । घर बाहिर निस्किएर काम गर्न थालेपछि हिम्मत बढ्ने रहेछ’, अम्बिकाले भनिन्, ‘म पहाडवाट झरेको सात वर्ष भयो । श्रीमान विदेशमा कमाउछन् । म घर व्यवहारसँगै रिक्सा चलाएर घर खर्च जुटाउछु ।’ रिक्सा चलाउन शुरु गर्दा दैनिक ३ देखि ५ हजार कमाई हुने गरेको अम्बिकाको भनाई छ । ‘अहिले रिक्सा चलाउनेको संख्या बढेको छ । तैपनि दैनिक १ हजारदेखि १५ सयसम्म कमाउछु’, उनले भनिन् । त्यसो त अर्की रिक्सा चालक सीता थापा क्षेत्रीले पनि आफुले कमाएको पैसाले घर खर्च चलाउन पुग्ने गरेको बताइन् । ‘खाडी मुलुक गएर महिनाको २० हजार कमाउनुभन्दा त आफनै देशमा काम गरेर कमाउनु राम्रो हो’, उनले भनिन् ।
हिमाली राईले रिक्सा कुदाउन थालेको पनि एक वर्ष भयो । ‘म साहुको रिक्सा कुदाउछु । दैनिक ८ सय भाडा बुझाउँछु । त्यसपछि मेरो दैनिक ५ देखि ६ सय बच्छ । रिक्सा कुदाएर कमाएको रकमले घर खर्च चलाउन पुग्छ’, राईले भनिन् । यो पेशामा पुरुषहरुले हेप्ने गरेको उनको अनुभव छ । ‘रिक्सा कुदाएर हिड्दा नक्कली केटी भन्छन् । खिल्लि उडाउछन् । यी सवै सुन्दा हेपिएको अनुभव हुन्छ’, उनले भनिन्, ‘रिक्सा चलाउन शुरु गर्दा छिमेकीहरुले पनि कुरा काट्थे । पोईला जान्छे, केटाहरु ल्याउछे भन्थे । यसो भनेको सुन्दा चित्त दुख्छ । जे जे भनेपनि काम गर्छु भनेर शुरु गरे ।’ सुरुमा यसरी कुरा काट्नेहरु नै अहिले आँटि रहिछ भन्ने गरेको उनको अनुभव छ । ‘मलाई नराम्रो भन्ने छिमेकीहरु पनि मेरो रिक्सा रिजर्भ गर्छन् । यो पेशामा लागेर मैले राम्रो गरे जस्तो लाग्छ’, राईले भनिन् । श्रीमान्को सल्लाहमा रिक्सा चलाउन थालेको बताउँदै राईले भनिन्, ‘अहिले त घर खर्च मेरै कमाईले धानेको छु ।’
तीन महिलाहरुले रिक्सा चलाउदा संङगालेका अनुभव र घटनाहरुले आम नेपाली महिलाहरुले युगौदेखि कार्यस्थलमा भोग्दै आएका समस्याहरुको प्रतिनिधित्व गर्छ । पहिलाको तुलनामा विभेद र हिंसाविरुद्ध आवाज उठाउन सक्ने भएपनि महिलाहरुले आफुले अंगालेको पेशा निर्धक्क र सुरक्षित साथ गर्न सक्ने वातावरण निर्माण भईनसकेको देखिन्छ । यो समस्या नेपाल मात्रको नभएर विकसीत मुलकमा चलेको “मिटु” अभियानबाट पनि प्रष्ट छ कि संसारका महिलाहरुले कार्यथलोमा विभिन्न रुपमा अपहेलना र हिंसाहरु सहँदै आएका छन् जुन महिलाहरुका निम्ति प्रगतिको बाधकको रुपमा देखिएको छ । महिलाहरुमाथि हुने गरेका विभिन्न विभेदहरुलाई कम गर्न आर्थिक रुपमा वलियो र स्ववलम्बी हुनु जरुरी छ । महिलाहरुले चुनौती र विभेदसँग पौठेजोरी खेल्दै भएपनि उनीहरुले आफुलाई आर्थिक रुपमा आत्मनिर्भर राख्न चाहेको देखिन्छ । र, महिलाहरुले आफुलाई आत्मनिर्भर बनाउन गरेका यस्ता प्रयासहरुलाई प्रोत्साहन र सहयोग गर्न सकिएमा समाजमा आत्मसम्मानसाथ आफ्नो पेशा र व्यावसाय गर्न सक्ने छन् । यसले महिलाहरुमाथि हुने विभिन्न किसिमका विभेद कम गर्न पनि महत्वपुर्ण भुमिका खेल्ने छ ।
संविधानको धारा १८ (२) मा राज्यले नागरिकवीच लिङगका आधारमा कुनै पनि भेदभाव गर्ने छैन भन्ने लेखिए पनि यी दृष्टान्तहरुले विभेद भने कायम नै रहेको देखिन्छ । आमाको नामबाट नागरिकता पाउने संवैधानिक व्यवस्था भएपनि व्यवहारमा त्यसको अभ्यास हुन सकेको छैन । छोरा र छोरी अंश (मुलुकी देवानी संहिता ऐन २०७४, परिच्छेद १० को अंशवण्डा सम्बन्धि व्यवस्था) को बरावर हकदार मानिन्छ । तर, अधिकांश छोरीहरुले अंश पाएका छैनन् । यसबाट पनि अधिकारहरु कागजमा लेखेर मात्र हुदैन यसलाई व्यवहारमा उतार्नु सवैभन्दा चुनौतीपुर्ण रहेको प्रष्ट हुन्छ ।
दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । स्थानीय तहमा करिव ४० प्रतिसत महिलाहरु निर्वाचित भए । संघिय संसदमा ३२ र प्रदेश सभामा ३४ प्रतिसत महिलाहरुको सहभागिता छ । सातवटा प्रदेश सरकार गठनको प्रक्रिया अघि बढेको छ तर अहिलेसम्म प्रदेश ६ मा एक जना महिला मात्र सरकारमा समावेस भएकी छिन् बाँकीमा नामोनिसाना छैन । संघिय सरकारमा २२ जनाको मन्त्री मण्डल गठन हुँदा २ मन्त्री र २ राज्यमन्त्री मात्र महिला परेका छन् । यी उदाहरणबाट के देखिन्छ भने संविधानमा प्राप्त अधिकार व्यवहारमा लागु गर्न निकै कठिन छ । खाईपाई आएको अवसर र शक्ति हस्तान्तरण गर्न भित्रदेखि नै नेतृत्व वर्गले चाहेको देखिदैन जसका कारण महिलाहरुले विभेद भोगिरहेका छन् । राष्ट्रपति, सभामुख र प्रधानन्यायधिस जस्ता उच्च पदमा महिलाहरु पुगेको विषय गर्व गर्न लायक भएपनि समाजमा दैनिक जस्तो घट्ने महिला विरुद्धका हिंसा, अन्याय, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनितिक विभेदहरुको न्युनिकरण भएको पाइदैन ।
महिला अधिकारको क्षेत्रमा काम गर्ने अधिकांश संघ संस्थाहरुले महिलाहरुलाई मात्र आफ्नो अधिकारको बारेमा सचेत गराएको देखिन्छ । तर, मुख्य कुरा बिभेद गर्ने मुल जरोहरु महिलासँगै उसको लोग्ने, दाजुभाई, बुवा, हजुरबुवाहरु, सासु, नन्द र छरछिमेकलाई पनि विभेदका बिषयमा बरावर हुने छलफलहरुमा कम सहभागि गराइएकाले पनि महिलाहरु माथि हुने विभेद कम हुन नसकेको देखिन्छ । यसैको परिणामस्वरुप आम महिलाहरुले अझै पनि चुपचाप निरिह भएर महिला भएकै आधारमा विभेद सहन वाध्य छन् । तर, महिलाहरु स्वयंले हिम्मत जुटाए भने परिवर्तन सम्भव छ । फरक पृष्ठभुमीका तीन महिला जसले पुरुषहरुले मात्र गदै आएको रिक्सा चलाउने कामलाई सक्षम हिसावले काम गरेर देखाएका छन् । अनेकौ अन्याय भेदभाव सहदै धरानमा रिक्सा चलाउन शुरु गर्ने अम्बिका गोले, सीता थापा र हिमाली राईहरुको संघर्षले महिलाप्रति हेरीने सामाजिक परंम्परागत सोच र वुझाईलाई चुनौती दिदै आफुलाई समाजिक परिवर्तनको सम्वाहकको रुपमा उभ्याउन सफल भएका छन् ।