अस्पतालभन्दा धामीघर नै सुरक्षित ठान्छन् विपन्न चेपाङहरु
सुदर्शन अर्याल,
काठमाडौं । राक्सिराङ गाउँपालिका –२ कि रुपवती चेपाङ अहिले ३१ वर्षकी भइन् । अहिलेसम्म पनि उनले अस्पतालमा पाईलासमेत टेकेकी छैनन् । उनलाई अहिले पनि औषधिले विरामी निको हुन्छ भन्ने कुरा भ्रम जस्तै लाग्छ । केही समय अघिसम्म त धामी झाँक्रीकै भरमा पर्ने उनी अहिले त्यता जान पनि छाडेकी छिन् । तर, यसको मतलव अस्पतालसम्मको पहुँच पनि उनमा छैन । रुपवती मात्रै होईन यो समुदायको उनको पुस्ताले अहिलेसम्म अस्पताल टेकेको छैन । दैनिक भ्याकुर र सिस्नुको मुन्टा टिपेर गुजारा गर्ने यो समुदायका व्यक्तिलाई अस्पतालमा ७० प्रकारका औषधिहरु निशुल्क पाईन्छ भन्ने जानकारी पनि छैन । त्यसैले पनि उनीहरु अस्पताल जान हिच्किचाउने गर्छन् ।
गत साउन महिनाको कुरा हो । रुपवतीकी कान्छी छोरी मैयालाई झाडा पखाला लाग्यो । तर, कसैले पनि उनलाई छोरीलाई अस्पताल लैजान सुझाव दिएनन् । उनी आफैलाई पनि अस्पताल जानुपर्छ भन्ने सोच आएन । बरु, उनी विरामी छोरी बोकेर नजिकैको धामी बाकोमा पुगिन् । मैयालाई धामीबाले धेरै विधि विधान पु¥याएर झारफुक गरे । तर, धामीबाको झारफुकले मैयाँको रोग निको भएन । औषधी भनेर रुपवतीले मैयाँलाई चिराईँतो र गिठ्ठाको जरा पनि खुवाइन् । तर, यसले पनि मैयालाई छोएन । मैयाको रोग निको नहुँदा रुपवती धेरै नै आत्तिएकी थिइन् । तर, जति आत्तिएपनि उनले छोरीलाई अस्पताल भने लगिनन् । त्यसैवेला गाउँ घुम्दै आएका अपरिचित ४ महिलाहरुको टोलीले मैयाँलाई औषधीहरु दिए । औषधीले मैयाको शरीर निको भयो ।
सुत्केरी हुँदा भत्ता दिने, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेलाई बाटो खर्चबापत पैसा दिएर पठाउने जस्ता कार्यक्रमहरुले यो क्षेत्रका विपन्न चेपाङहरुलाई लोभ्याउन सकेको छैन । विडम्बना के छ भने अधिकांश चेपाङहरु विरामी हुँदा अस्पताल जाने गरेका छैनन् ।
रुपवतीको जस्तो समस्या राक्सिराङ गाउँपालिकाका आधाभन्दा बढी विपन्न चेपाङहरुको समस्या हो । विपन्न बस्तीका नागरिकहरुलाई आकर्षित गर्नको लागि राज्यले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्ने गरेको छ । सुत्केरी हुँदा भत्ता दिने, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेलाई बाटो खर्चबापत पैसा दिएर पठाउने जस्ता कार्यक्रमहरुले यो क्षेत्रका विपन्न चेपाङहरुलाई लोभ्याउन सकेको छैन । विडम्बना के छ भने यहाँबाट बैदेशिक रोजगारीमा गएका एक सयको हाराहारीका मानिसकै परिवारबाहेक अधिकांश चेपाङहरु विरामी हुँदा अस्पताल जाने गरेका छैनन् ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार यो समुदायका व्यक्तिहरुमा चेतनाको अभाव छ जसका कारण झण्डै दुई तिहाईभन्दा बढी विपन्न परिवार अस्पतालको पहुँचभन्दा टाढा छन् । अध्यक्ष मल्ल विपन्न समुदायमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु लिएर गएको भएपनि उनीहरुलाई अस्पतालको पहुँचमा ल्याउन नसकिएको बताउँछन् । मल्ल अघिकांश ९ महिनासम्म कन्दमूलको भरमा जीवन गुजारा गर्नुपर्ने अवस्थामा रहेका कारण पनि उनीहरुलाई अस्पतालभन्दा घरेलु जडिबुटीतिर नै बढी चासो हुने गरेको बताउँछन् । गाउँपालिकाले दिएको जानकारीअनुसार गाउँपालिकाभरी चेपाङको संख्या १३ हजार २ सय ३४ जना छ । यसमध्ये स्वास्थ्य संस्थामा कूल जनसंख्याको मुस्किलले २५ प्रतिशत चेपाङहरु मात्र विरामी हुँदा स्वास्थ्य संस्था जाने गरेका छन् भने बाँकीको भर त्यही जडिबुटी एवं कन्दमूल र धामी झाँक्रीमा अडिने गरेको छ ।
अधिकांशलाई विरामी हुँदा स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने चेतना समेत छैन । “अहिलेसम्म विरामी हुँदा हाम्रै जडिबुटीहरुले उपचार गर्ने गरेको हो । अस्पताल अहिलेसम्म टेकेको छैन”, रुपवतीले भनिन् । उनीहरुमध्ये धेरैमा अस्पताल गएपछि पैसा तिर्नुपर्छ भन्ने छ जसका कारण उनीहरु अस्पताल जान डराउछन् । “पैसा माग्छन् रे हामीसँग विहान बेलुका खानेकुरा छैन । कसरी तिर्नी पैसा <’ रुपवतीले गुनासो गरिन् । गाउँपालिकाको तथ्यांकअनुसार अहिले गाउँपालिकाबाट ९८ जना वैदेशिक रोजगारीमा गएका छन् भने यो समुदायमा अहिलेसम्म ६१ जनाले औपचारिक शिक्षा लिएका छन् । उनीहरुको आर्थिक स्थिती तुलनात्मक रुपमा केही माथि भएपनि बाँकी अधिकांश चेपाङहरु अहिले पनि विहान बेलुकी कन्दमूलको भरमा बाँच्न बाध्य छन् । गाउँपालिका अध्यक्ष मल्लले अहिले पनि अधिकांश चेपाङहरु विहान बेलुका कन्दमूल र गिठ्ठा भ्याकुरको भरमा गुजारा चाल्ने गरेको भेटिएको बताए । यो समुदायका महिलाहरुको दैनिकी साग सिस्नु खोज्ने, माछा मार्ने र गिठ्ठा खोज्ने रहेको छ भने पुरुषहरु विशेषगरी ज्याला मजदूरी गर्ने र बाँकी समय शिकार गर्ने गर्छन् ।
सरकारले यस्तै विपन्न परिवारको लागि भनेर नै विभिन्न किसिमका औषधिहरु निशुल्क गरेको छ । सरकारले देशभरका सरकारी स्वास्थ्य संस्थाहरुलाई आफूले उपलव्ध गराएको ७० प्रकारका निशुल्क औषधिको विवरणबारे आम सर्वसाधारणले देख्ने गरी राख्नको लागि एक वर्षअघि परिपत्र गरेको थियो । स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य पुर्नजागरण महाशाखाले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालहरुलाई निशुल्क औषधिको विवरण देखिने गरी राख्न पुनः परिपत्र गरेको हो । तर, स्वास्थ्य संस्थामा नै आउने यी विपन्न समुदायको लागि भने यो नियम अझैसम्म लागू भएको छैन ।
अहिले स्वास्थ्य चौकीबाट ३५ प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निशुल्क वितरण हुँदै आएको छ । तर, विपन्न क्षेत्रलाई यस्ता औषधिहरु निशुल्क पाईन्छ भन्ने ज्ञान समेत छैन जसले गर्दा लक्षित वर्गका अधिकांशले यो सुविधा लिन सकिरहेका छैनन् ।
(नेपाल पत्रकार महासंघ र अलर्ट इन्टरनेशनलद्वारा सञ्चालित फेलोसिप कार्यक्रमका लागि तयार पारिएको ।)
source:http://hamrakura.com/news-details/36620/2017-12-21