अल्पसंख्यक मगन्ता : न पेसा न पहिचान
पुस २५, २०७४ ठाकुरसिंह थारु
नेपालगन्ज — पुर्खाले माग्ने पेसा अपनाए । त्यही पेशाले मगन्ता जातीले पहिचान पाए । २१ औं शताब्दीमा आएर उनीहरुले पेशा र पहिचान दुबै गुमाएका छन् । न उनीहरुसँग पुर्खौली पेशा रह्यो न पहिचान नै ।
पेसा र पहिचानविना उनीहरु जीवन संघर्ष गरिरहेका छन् । गरिबी, अशिक्षाले उनीहरुलाई गाँजेको छ । जीवन धान्न कष्ट छ । पुर्खाको पेशा अपनाउँदा समाजले अपहेलना गर्ने छँदै छ, तिरस्कृत हुनु परेको तितो अनुभव मगन्ता समुदायको छ । तर जीवन जिउन विकल्प पनि छैन उनीहरुसँग । त्यसैले उनीहरु बैकल्पिक पेशा अपनाउन थालेका छन् । माग्नेसँगै मजदुरी गर्ने रिक्सा तान्ने काममा लागेका छन् । तर पुर्खाको नासो धान्न उनीहरु अझै पनि बालवालिकालाई पढ्नभन्दा पनि माग्न सिकाउँछन् ।
त्यही समुदायकी एक किशोरी हुन फुच्ची मगन्ता । उमेर थाहा छैन । विद्यालयको मुख देखेकी छैनन् । जन्म दर्ता बारे जानकारी छैन । सबथोक बारे बेखबर छन् उनी । किन त ? ‘जान्ने भएपछि बुबाआमाले पढ्न पठाएनन् । बरु सानै उमेरमा माग्न सिकाए । अरुको घर दैलोमा माग्न पठाए । जन्म दर्ता गरेको छैन,’ करिव १५ वर्षकी देखिने फुच्चीको जवाफ थियो । पुसको कठङ्ग्रिने चिसो छ । प्लास्टिक र फुसको सानो टहरा । जहाँ फुच्ची, दुई भाइ र आमाबुवासहितको परिवार बस्छन् । भुईमा पराल ओच्छ्यार रात बिताउँछन् उनीहरु । जिल्ला प्रहरी कार्यालय नजिकै अरुको खाली जग्गामा मगन्ता परिवार आश्रय लिएका छन् । डुडवा गाउँपालिकाको हिरमिनीया नजिकैको ऐलानी जग्गामा सानो टहरा थियो । त्यही टहरा लिएर परिवार पाल्न उनीहरु नेपालगन्ज बस्दै आएका छन् ।
फुच्चीको के कुरा ? बुबा नारायण र आमा बासमति मगन्ताको आफ्नै पेशा र रोजगारीको ग्यारेन्टी छैन । उनका पुर्खाहरु माग्ने पेशा अपनाए । हाल पुर्ख्यौली पेशा भने धरापमा परिसकेको छ । माग्ने पेशाले गुजारा गर्न र परिवार पाल्न सम्भव नभएपछि उनीहरु मजदुरी गर्ने र रिक्सा तान्ने काम गर्न थालेका छन् । तर पुर्खाको नासो जोगाउन उनीहरु छोराछोरीहरुलाई बिद्यालय पठाउनु भन्दा पनि माग्ने बिधि सिकाए । ‘सम्पत्तीको नाममा बुबाआमासँग केही नभएपछि के गर्नु । माग्ने तरिका सिकाए । अरुको खुट्टा ढोगेर पैसा माग्न भने । बाटोमा हिडिरहेका मानिसहरुसँग त्यसै गरेर माग्ने काम गरे,’ फुच्चीले भनिन्,‘तर आजकालका मान्छेमा दाया रहेन । खुट्टा समाउँदा पनि गाली गर्छन । पुर्खाको पेशाले काम चल्दैन ।’ नारायणका फुच्चीसँगै ९ वर्षीया छोरी सुरती र ८ वर्षीय छोरा कल्लु मगन्ता छन् । सुरती र कल्लु पनि बिद्यालय जाँदैनन् । उनीहरु पनि बजार डुल्दै माग्दै हिड्छन् । अरु बेला उनीहरु प्लास्टिक र कवाड संकलन गर्छन । त्यही बिक्री गरेर आमा बुवालाई सहयोग गर्छन । ‘जग्गा जमिन छैन । पुर्खाले माग्ने सिकाए । छोराछोरी पाल्न सकिने अवस्था नभएपछि मजदुरी गर्न थालियो,’ नारायण भन्छन्,‘पुर्खाको पेशा अब हराएर गइसक्यो । सरकारले पनि हामीलाई हेर्दैन ।’
नारायण मगन्ताको कथा ब्यथाले बाँकेको डुडवा गाउँपालिका वडा नम्बर १ को हिरमिनिया गाउँ नजिकै रहेको मगन्ता समुदायको समस्यालाई समेटेको छ । धेरैलाई आश्चार्य लाग्न सक्ला । अझै पनि उक्त गाउँ मगन्ता बस्ती भनेर चिनिन्छ । २१ औं शताब्दीमा मगन्ता गाउँ छ भनेर सुन्दा धेरैले जिब्रो टोक्छन् । यहाँ करिव ६५ बढी परिवार मगन्ता समुदायकै छन् । त्यसैले गाउँको नाम मगन्तापुर परेको स्थानीय बताउँछन् । उनीहरु सबैको पेशा माग्ने नै थियो तर हाल उनीहरु जीवन जीउन वैकल्पिक पेशामा लाग्न थालेका छन् । ती मध्ये लक्ष्मीप्रसाद मगन्ता पनि हुन । पत्नि अन्जली र उनी आसपासका गाउँमा माग्न हिड्छन् । छोरा विनय कबाड खोज्दै हिडछन् । पढ्ने उमेरमा फोहोरको थुप्रोमा प्लास्टिकका बोटल खोज्दै गर्दा उनको भविष्य पनि अन्यौलमा परेको छ । ‘पुर्खाहरुले अरु केही शीप सिकाएनन् । केही वर्ष अघिसम्म मागेरै जीवन धानियो । अब त्यो अवस्था रहेन,’ करिव ४० वर्षीय लक्ष्मीप्रसादले सुनाए,‘कहिलेकसो माग्न जान्छौँ । कहिले मजदुरी गर्न बजार जाने गरेका छौँ ।’ मगन्ता समुदायका युवाहरु पहिले विभिन्न देबीदेउताको भेष धारण गरेर गाउँमा माग्न पुग्थे । नेपालगन्जका पसलपसलमा पुगेर उनीहरु एक/दुई रुपैयाँ जम्मा पार्थे । तर पछिल्लो समय उनीहरुको पुर्खौली पेशा भने धरापमा परिसकेको छ ।
यसरी धरापमा पर्यो पहिचान
मगन्ता समुदाय नेपालका अल्पसंख्यक हुन । बाँकेको हिरमिनियामा करिजव ७० घर परिवारका चार हाराहारीमा उनीहरुको जनसंख्या छ । गाउँमा एक सय बढी बालवालिका छन् । तर कोही पनि बिद्यालय जाँदैनन् । माग्नका लागि विभिन्न स्थानमा अभिभावकहरु बसाई सर्ने भएका कारणले बालवालिकाहरु बिद्यालय पढ्न नपाएका हुन । मागेर जीवन निर्वाह गर्ने भएकाले समुदायले मगन्ता जाती भनेको हो । पुर्खाहरुले मगन्ता नै लेखाए । तर युवाहरुलाई आफ्नो नामको पछाडि झुण्डिने थरले पोल्न थालेपछि उनीहरु माउत लेखाउन थाले । हाल उनीहरुको पेसासँगै आफ्नै पहिचान लोप हुन अवस्थामा पुगेको छ । असारसाउनमा घरमै बस्ने तर त्यसपछि माग्न हिडने उनीहरुको परम्परा हो । जसका कारण उनीहरुसँग घरजग्गा र अन्य सम्पत्ती हुने कुरै भएन । त्यसो त उनीहरुले पहिचानका लागि एक/दुई पल्ट स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र नबुझाएका होईनन् । तर पेसा र पहिचानका लागि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ । ‘रोजागरी र आफ्नो पहिचानका लागि एक/दुई पल्ट नेपालगन्ज पुगेर कुरा राख्यौँ । हालसम्म केही सुविधा पाउन सकेनौ,’ मगन्ता समुदायका अगुवा सौखिलाल माउत भन्छन्,‘निर्वाचनका बेला नेताहरुले पहिचान दिलाउने आश्वासन दिए । तर सबै भन्ने मात्रै रहेछ ।’
मुलुकमा संघीय संरचनाको संविधान जारी भएको छ । सबै समुदायको पहिचान र मानव अधिकारको ग्यारेन्टी नयाँ संविधानले गरेको छ । तर मगन्ता बस्तीमा भने कुनै परिवर्तन आएको देखिदैन । राउटे लगायतका अल्पसंख्यक समुदाय काठमाडौं पुगेर आफ्ना समस्या राख्ने भएका छन् । तर बाँकेका मगन्ता समुदाय भने आफ्नो परम्परा धान्न संघर्षमा जुटिरहेको छ । ‘हाम्रो माथि पहुँच छैन । नेताहरु पनि बोल्दैनन्,’ सौखिलाल भन्छन्,‘हामीसँग न परम्परागत शीप रह्यो न पहिचान नै पाएका छौँ ।’ माग्ने पेसा गर्दा समुदायको अपहेलना र तिरस्कार सहनु पर्ने बाध्यता छ । बैकल्पिक पेशा नहुँदा जीवन गुजारा गर्न समस्या भएको छ, उनीहरुलाई । मगन्ता समुदायलाई दलितको सूचीमा राखिएको छ । तर थर माउत लेख्ने गरेका कारण उनीहरु सामाजिक सुरक्षा भत्ताबाट पाउन मुस्किल हुन थालेको छ । उनीहरुले सरकारले दिने सुविधा सहजैरुपमा पाउन आग्रह गरेका छन् । ‘मगन्ता भनेपछि सबैले हेप्छन् । काम गर्न छोडेर किन माग्दै हिडेको भनेर हप्काउँछन् । उनीहरुलाई के थाहा हाम्रो नै माग्ने थियो,’ स्थानीय रामसुरत माउत भन्छन्,‘सरकारले हामीले रोजगारी दिओस । हाम्रो अधिकार ग्यारेन्टी गरोस । अल्पसंख्यक मानेर मासिक भत्ताको सुविधा दिनु पर्यो ।’
उक्त क्षेत्रबाट निर्वाचित संविधानसभा सदस्य इस्तियाक राईले अल्पसंख्यक मगन्ता समुदायको पहिचानका लागि आवाज उठाउने प्रतिबद्वता जनाए । उनले उक्त समुदायको जीवन सहजताका लागि वैकल्पिक शीपको अवश्यकता रहेको बताए । ‘संविधानले सबै समुदायको अधिकार ग्यारेन्टी गरिसकेको छ । त्यसैले उनीहरुलाई पनि समाजमा सम्मानजनकरुपमा जीउन पाँउने अधिकार छ,’ उनले भने । Source:https://www.kantipurdaily.com/news/2018/01/09/20180109122804.html