पुस ३, काठमाडाैं । नेपाल पत्रकार महासंघ र श्री मिश्री–विजय फाउण्डेसन बीच ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्न बिहिबार सहमति गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’को स्थापनाले नेपालको जहाँनिया राणा शासन अन्त्यका लागि सुब्बा भक्तलाल श्रेष्ठ र उहाँकी जीवनसंगीनीले गर्नुभएको योगदानको बारेमा चर्चा हुने बताउनुभयो । उहाँले उक्त पुरस्कारले पत्रकारलाई हौसला दिने भन्दै पुरस्कार स्थापना गर्ने श्री मिश्री–विजय फाउण्डेसनलाई धन्याबाद व्यक्त गर्नुभयो ।
वि.सं. १९९७ का चार सहिदहरुमध्ये गंगालाल श्रेष्ठका कान्छा भाई तथा मिश्री–फाउण्डेसनका अध्यक्ष विजयलाल श्रेष्ठले आफ्ना मातापिताले गर्नुभएको योगदानको सम्मान स्वरुप उक्त पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।
पत्रकारिता क्षेत्रमार्फत नेपालको राष्ट्रियता, सामाजिक न्याय, समाजसेवा, पर्यावरण संरक्षणलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने पत्रकारलाई सम्मान गरी मर्यादित, जिम्मेवार र सेवामुखी पत्रकारिताको विकासमा टेवा पु¥याउने उद्देश्यले यस पुरस्कारको स्थापना गरिएको छ ।
उक्त पुरस्कारको राशी १,११,१,११ (एक लाख एघार हजार एकसय एघार रुपैयाँ ) रहेको छ । पुरस्कार ‘भक्तलाल स्मृति दिवस’को अवसर पारेर फागु पूर्णिमाको भोलिपल्ट दुवै संस्थाको संयोजनमा प्रदान गरिने छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, महासंघका कोषाध्यक्ष राजेश मिश्र र मिश्री–विजय फाउण्डेसनका सचिव अरुण श्रेष्ठको उपस्थितिमा एक कार्यक्रम बीच सहमति पत्रमा हस्ताक्षर भयो ।
सहमति पत्रमा नेपाल पत्रकार महासंघको तर्फबाट महासंघका अध्यक्ष श्री गोविन्द आचार्य तथा श्री मिश्री–विजय फाउण्डेसनको तर्फबाट फाउण्डेसनका अध्यक्ष श्री विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।