वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७७।१०।१३

प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

माघ १२ गते नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार वाग्ले, मानवअधिकारकर्मी पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा दर्जनभन्दा बढी घाइते भएका थिए ।

शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य हो । प्रहरीको यो बर्बर दमनले नागरिकको हकअधिकारमाथिसमेत गम्भीर आघात पुगेको महासंघको ठहर छ । महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथैः आगामी दिनमा यस्ता दमनकारी कार्य नदो¥याउन सरकारलाई चेतावनीसमेत दिन चाहन्छ ।

 

रमेश विष्ट

महासचिव

 Download